वीरगंज, जेठ २० –
सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर ले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक थान पानी डिस्पेन्सर सहयोग गरेको छ।
कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
संस्थाका अनुसार सडकमा खटिने ट्राफिक प्रहरी र सेवाग्राहीलाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो। कार्यक्रमका क्रममा समुदाय र सेवामूलक निकायबीच सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।
ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कटवालले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सेवा प्रवाहमा थप सहजता आउने बताए।
कार्यक्रममा नरेश भंसाली, दिलिप कार्की लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।






