रक्सौलको होटलमा नेपाली युवक झुण्डिएको अवस्थामा भेटियो

1200x150_1200x150-01.jpg (1)

रक्सौल, २० जेठ । भारतको रक्सौल बजारस्थित गम्हरिया चोकमा रहेको पूजा स्वीट्स होटलमा कार्यरत एक नेपाली युवक शव भेटिएको छ ।
युवकको शव होटलको माथिल्लो तलाको कोठामा फन्दामा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको सूचना पाउनासाथ प्रहरी घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि मोतिहारी पठाएको छ । साथै घटनावारे अनुसन्धान समेत शुरू गरिएको छ ।
नेपालको पर्सा जिल्ला अन्तर्गत उदयपुरघूर्मी निवासी राजन साहको करिब एक वर्षदेखि पूजा स्वीट्स होटलमा काम गर्दै आएका थिए र होटल परिसरमै बस्ने गर्दथे ।
होटल सञ्चालकका अनुसार मङ्गलवार बिहान राजनले सधैंजसो पसलमा काम गरेका थिए । पछि टाउको दुखेको गुनासो गर्दै उनी आराम गर्न आफ्नो कोठामा गएका थिए । करिब एक घण्टापछि जब अन्य कर्मचारी उनलाई बोलाउन कोठामा पुगे, तब उनी फन्दामा झुण्डिएको अवस्थामा फेला परेका थिए । हतार–हतार उनलाई तल ओरालिए पनि त्यतिबेलै उनको मृत्यु भइसकेको थियो।
भारतीय प्रहरीका अपर थानाध्यक्ष रवि कुमारले पहिलो नजरमा यो घटना आत्महत्या जस्तो देखिए पनि प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको बताएका छन् । घटनाको सूक्ष्म जाँचका लागि एफएसएल टोलीलाई समेत जानकारी दिइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा मृतकले मोबाइलमा एक युवतीसँग लगातार कुराकानी गर्ने गरेको कुरा पनि बाहिर आएको छ । यसबाहेक उनले हालसालै केही व्यक्तिको ऋण चुक्ता गर्नका लागि तीन हजार रुपियाँँ उधारो समेत लिएका थिए । तीन दिनअघि उनी एक परिचित व्यक्तिको सामान पुर्याउन बेतिया गएको समेत खुलेको छ । प्रहरीले यतिबेला यी सबै बुँदाहरूमा केन्द्रित रहेर अनुसन्धान अगाडि बढाएको छ ।
घटनाको खबर फैलिएसँगै होटल र आसपासको क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो । यता नेपालमा रहेका मृतकका परिवार र आफन्तजनमा भने शोकको माहोल छाएको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः