वीरगंज , जेठ २० –
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) शक्ति राम र एक युवती मृत अवस्थामा फेला परेका छन्।
पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका राम बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। नजिकै अर्को रुखमा कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी पनि मृत फेला परेकी छन्।
प्रहरीका अनुसार शक्ति राम वैशाख १९ गते २ दिनको बिदा लिएर गणबाट हिँडेका थिए। त्यसपछि सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएका थिए।
शर्मिला चौधरी वैशाख १८ गते नै रामलाई भेट्न काभ्रे पुगेको खुलेको छ। दुबैको मोबाइल सम्पर्क नहुँदा खोजतलासका क्रममा उनीहरूको अवस्थाबारे जानकारी नभएको थियो।
स्थानीयले रुखमा दुई जनाको शव जस्तो देखिने वस्तु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरूको पहिचान गरेको हो।
दुबै जनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।






