वीरगंज, जेठ २१ –
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन्।
भ्रमणका क्रममा उनले नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध सुदृढीकरणबारे छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत हुने यो भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।






