वीरगंज, २१ जेठ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित बाह्रकिलोमा हावाहुरीका कारण रूख ढलेर अवरूद्ध भएको पूर्वरुपश्चिम राजमार्ग पूर्ण रूपमा सुचारू भएको छ ।
बिहीवार बेलुका करिब ५ः१० बजेको समयमा आएको तीव्र हावाहुरीका कारण सडक छेउमा रहेको एउटा कुकाठको रूख ढल्दा पूर्वरुपश्चिम राजमार्गको एकतर्फी बाटो पूर्ण रूपमा अवरोध भएको थियो । राजमार्गमा रूख ढलेर सवारी आवागमनमा समस्या भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थलतर्पm प्रस्थान गरेको थियो ।
साथै, राजमार्गको अवरोध तत्काल हटाउनका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ, बाराबाट पनि कटर मेसिन (काठ काट्ने आधुनिक मेसिन) सहितको विशेष टोली परिचालन गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कटर मेसिनको प्रयोग गरी सडकमा तेर्सिएको रूखलाई काटेर पन्छाएपछि बेलुका ६ः५२ बजेदेखि राजमार्गमा दुर्ईतर्फी नै सवारी साधनहरूको आवतजावत पुनः सुचारू भएको सुरक्षा निकायले जनाएको छ । रूख ढलेका कारण केही बेर सवारी जाम भए पनि सुरक्षाकर्मीहरूको समयमै सक्रियताका कारण ठूलो सास्ती हुन पाएन ।





