विश्व वातावरण दिवसको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बिहान वीरगंज–२५ श्रीसियास्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार परिसरमा आयोजित कार्यक्रममा आँप, लिची र अनारलगायतका ४० वटा फलफूलका बिरुवा रोपिएको थियो।
कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीणा, कन्सुलर मनीष कुमार, वीरगंज भन्सारका भन्सार प्रशासक कृष्ण मैनाली, नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवाली, ड्राइभ ड्राइपोट सञ्चालन गर्ने क्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालीका अधिकारीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी,वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा फलफूलजन्य बिरुवाको विस्तार गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले वातावरण संरक्षणसँगै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।






