वीरगंज, जेठ २२ –
एशियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ।
सिंगापुरमा जारी प्रतियोगिताको समूह चरणअन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा हङकङले ओमानलाई १५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण तय भएको हो।
समूह ‘ए’ को विजेता बनेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, समूह ‘ए’ को उपविजेता मलेसियाले समूह ‘बी’ को विजेता हङकङसँग खेल्नेछ। दुवै सेमिफाइनल खेल आइतबार हुनेछन्।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा चीनलाई २२१ रनले र दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको थियो।
अब नेपाल ओमानलाई हराउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।






