‘कक्रोच जनता पार्टी’को प्रदर्शन आज दिल्लीमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २३ –

भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ले आज नयाँदिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो।

पार्टीका संस्थापक अभिजीत डिप्के प्रदर्शनमा सहभागी हुन अमेरिकाबाट नयाँदिल्ली पुगेका छन्। ३० वर्षीय डिप्के यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग आबद्ध रहेका थिए। उनले गत जेठ २ गते व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका थिए।

सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि उक्त अभियान सुरु भएको बताइएको छ। सामाजिक सञ्जालमा छोटो समयमै लोकप्रिय बनेको यो अभियानले शिक्षासम्बन्धी विभिन्न मुद्दा उठाउँदै आएको छ।

डिप्केले परीक्षामा हुने अनियमितताको आरोप लगाउँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। उनले प्रदर्शनका क्रममा अनावश्यक भीड नगर्न समर्थकहरूलाई आग्रह गरेका छन्।

भारतीय शैक्षिक तथा वातावरण अभियन्ता सोनम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने जनाइएको छ। पार्टीले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलन अघि बढाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः