वीरगंज, जेठ २३ –
भारतको ‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले नयाँदिल्लीस्थित जन्तर–मन्तरमा विरोध प्रदर्शन सुरु गरेको छ। प्रदर्शनमा पार्टीका संस्थापक अभिजित दिपकेसहित हजारौं समर्थक सहभागी भएका छन्।
प्रदर्शनकारीहरूले विभिन्न परीक्षामा प्रश्नपत्र बाहिरिएको घटनाको विरोध गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। सीजेपीको यो पहिलो सार्वजनिक प्रदर्शन हो।
अमेरिकाबाट शनिबार बिहान नयाँदिल्ली पुगेका दिपके विमानस्थलबाट बाहिरिने क्रममा डा. भीमराव अम्बेडकरको पुस्तक हातमा बोकेर आन्दोलनस्थल पुगेका थिए। उनले प्रदर्शनमा सहभागी भई आन्दोलनलाई सम्बोधन गरेका छन्।
सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेको सीजेपीले शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलन गरिरहेको जनाएको छ। यद्यपि, पार्टी हालसम्म औपचारिक रूपमा राजनीतिक दलका रूपमा दर्ता भएको छैन।
सामाजिक सञ्जालमा व्यापक समर्थन प्राप्त गरेपछि सीजेपीले पहिलोपटक सडक आन्दोलन गरेको हो। प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।







