अधिवेशनको पूर्वसन्ध्यामा रास्वपा पर्सामा झडप

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २३ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक विवाद चर्किँदा दुई पक्षबीच झडप भएको छ। झडपमा केही कार्यकर्ता घाइते भएका छन् भने उनीहरूको उपचार नारायणी अस्पतालमा भइरहेको छ।

आइतबार हुने जिल्ला अधिवेशनको तयारी चलिरहेकै बेला शनिबार एक पक्षले अधिवेशन स्थगित गर्न माग गर्दै मधेश प्रदेश नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो। प्रतिनिधि छनोट प्रक्रियामा एकपक्षीयता भएको, विधान तथा प्रक्रिया मिचिएको र विभागीय प्रतिनिधि मनोनयनमा पारदर्शिता नभएको आरोप लगाउँदै असन्तुष्ट पक्षले अधिवेशन रोक्न माग गरेको हो।

असन्तुष्ट पक्षका नेता सुधिर पटेलले जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले अधिवेशनमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाए। आफ्ना निकट व्यक्तिहरूलाई पदाधिकारीमा जिताउन खोजिएकाले विवाद उत्पन्न भएको उनको दाबी छ। उनले पन्त पक्षका कार्यकर्ताले हुलदंगा गर्दै कुटपिट गरेको आरोप समेत लगाए।

यता संस्थापक जिल्ला सभापति समेत रहेका सांसद हरि पन्तले भने केही अराजक समूहले अधिवेशन बिथोल्न खोजेको आरोप लगाएका छन्। उनले पार्टीको विधान र निर्देशिकाअनुसार नै प्रतिनिधि छनोट भएको दाबी गर्दै तोकिएकै मितिमा जिल्ला अधिवेशन सम्पन्न हुने बताए।

पार्टीभित्र एकातर्फ हरि पन्त नेतृत्वको समूह सक्रिय छ भने अर्कोतर्फ सांसद सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य निकट समूह देखिएको छ। यसअघि जेठ १७ गते सम्पन्न वीरगन्ज महानगर अधिवेशनमा पनि दुई पक्षबीच प्रतिस्पर्धा देखिएको थियो। उक्त निर्वाचनमा कानु–चौरसिया–शाक्य पक्षका उम्मेदवार दीपराज पटेल विजयी भएका थिए।

रास्वपा पर्साको जिल्ला सभापतिका लागि हाल हरि पन्त र सुशील साह कानु प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। जिल्ला अधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको गुटगत विवाद झन् सतहमा आएको छ।

सम्बन्धित पोस्टहरुः