राधेश्याम पटेल, वीरगंज ,२५ जेठ/
मकवानपुरको हेटौंडा नजिकै रहेको त्रिखण्डी पार्कमा पछिल्ला केही वर्षयता आन्तरिक तथा सीमापार पर्यटकका लागि गर्मी छल्ने प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । विशेषगरी मधेशप्रदेशका जिल्लाहरू तथा छिमेकी भारतका बिहार र उत्तर प्रदेशका विभिन्न जिल्लाबाट गर्मी बढेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेखनीयरूपमा वृद्धि भएको देखिन्छ ।
हेटौडा-कुलेखानी सडकखण्ड अन्तर्गत त्रिखण्डी पार्क अवस्थित छ। त्रिखण्डी क्षेत्र प्राकृतिक सौन्दर्य, चीसो पानीको खोल्सा र हरियाली वातावरणका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको हो । अत्यधिक गर्मीको समयमा यहाँको शीतल वातावरणले आगन्तुकहरूलाई आकर्षित गर्ने गरेको छ । पिकनिक मनाउने, खोलामा नुहाउने तथा परिवार र साथीहरूसँग समय बिताउने उद्देश्यले दैनिकरूपमा ठूलो सङ्ख्यामा मानिसहरू यहाँ आउने गरेका छन् ।
सामान्य दिनहरूमा समेत यहाँ आगन्तुकहरूको चहलपहल देखिने गरेको छ भने सार्वजनिक बिदा र सप्ताहान्तका दिनहरूमा भने अत्यधिक भीड हुने गरेको स्थानीयहरूले बताएका छन् । विद्यालय, कलेज, विभिन्न सङ्घसंस्था तथा कार्यालयबाट समूह बनाइ पिकनिकका लागि यो स्थान रोज्ने गरेका छन् । यसले त्रिखण्डीलाई स्थानीयस्तरमा मात्र नभई क्षेत्रीयस्तरमा समेत एक महत्वपूर्ण मनोरञ्जनस्थलका रूपमा स्थापित गरिदिएको छ ।
हाल यहाँ पिकनिकका लागि दुई/तीन वटा सेडको मात्र व्यवस्था गरिएको छ, जसका लागि शुल्क तिर्नुपर्छ । साथै, सवारीसाधन पार्किङ गर्दा प्रतिचारचक्के सवारी ५० रुपैयाँ शुल्क लिने व्यवस्था गरिएको छ । तर अन्य कुनै अतिरिक्त प्रवेश शुल्क नलिइने भएकाले यो स्थान अझै पनि सर्वसाधारणका लागि सहजरूपमा पहुँचयोग्य रहेको छ ।
तर बढ्दो पर्यटकहरूको चापका बीच आधारभूत पूर्वाधारको कमी स्पष्टरूपमा देखिन थालिएका छन् । त्रिखण्डीमा अझैसम्म पर्याप्त शौचालय, खानेपानीको उचित व्यवस्था तथा फोहोर व्यवस्थापन प्रणालीको अभाव रहेको स्थानीयवासी तथा आगन्तुकहरूको गुनासो छ । विशेषगरी भीडभाड हुने दिनहरूमा स्वच्छता र सरसफाइको समस्या बढी देखिने गरेको छ, जसले पर्यटकहरूमा नकारात्मक प्रभाव पार्ने गरेको छ ।
स्थानीयस्तरमा पर्यटक व्यवस्थापनका लागि थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । यदि सम्बन्धित स्थानीय तहले शौचालय, खानेपानी, फोहोर व्यवस्थापन तथा विश्रामस्थल जस्ता आधारभूत संरचना विस्तार गर्ने हो भने त्रिखण्डीको पर्यटन सम्भावना अझै व्यापकरूपमा बढ्ने देखिन्छ । साथै, न्यूनतम तथा व्यवस्थित शुल्क प्रणाली लागू गरेर दीर्घकालीन आम्दानीको स्रोत पनि सिर्जना गर्न सकिने स्थानीय सरोकारवालाहरूको धारणा छ ।
पर्यटकको बढ्दो आगमनले एकातिर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ भने अर्कोतर्फ व्यवस्थापनको चुनौती पनि बढाउँदै लगेको छ । उचित पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माण गर्न सके त्रिखण्डी क्षेत्र आन्तरिक तथा सीमापार पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने सम्भावना बलियो रहेको स्थानीयहरूको भनाइ छ ।
यसरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्रिखण्डी क्षेत्रलाई व्यवस्थित र सुविधायुक्त पर्यटन गन्तव्यका रूपमा विकास गर्न सके मकवानपुर जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।







