सीमा विवादको विषयमा संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक फेरि स्थगित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २६ –

प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान नछोडेपछि सभामुखले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न प्रस्ताव गरेका थिए। सामान्यतया एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि आज पाँच मिनेट मौनधारण गरिएको थियो।

यसप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउँदै प्रतिपक्षी बेन्चबाट संसद्को मर्यादा र सभाको सम्मानविपरीत गतिविधि भएको टिप्पणी गरेका छन्। उनले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा नेपालले समेत भारतको केही भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत र तथ्यहीन रहेको दाबी गर्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन्।

विपक्षी दलहरूको अवरोध कायमै रहेपछि संसद्को नियमित कामकारबाही प्रभावित भएको छ।

सम्बन्धित पोस्टहरुः