वीरगंज, जेठ २६ –
नेपाल–भारत सीमास्थित रक्सौल नाकाबाट भिसाबिनै भारत प्रवेश गर्न खोज्ने दुई विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा म्यानमारका आङ निङ ल्यन्ट र स्विट्जरल्यान्डकी जुनिला बेक रहेका छन्। उनीहरूलाई मंगलबार भारततर्फको रक्सौलस्थित नेपाल–भारत मैत्री पुलमा नियमित जाँचका क्रममा भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको हो।
भारतीय प्रहरीले आवश्यक कागजात जाँचका क्रममा शंका लागेपछि सोधपुछ गर्दा उनीहरूसँग भिसा तथा वैध यात्रा अनुमति नभएको खुलेको जनाएको छ।
दुवै जनालाई हरैया थाना प्रहरीको नियन्त्रणमा राखिएको छ भने थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी मोतिहारी अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।
भारतीय अध्यागमन र सुरक्षा निकायले उनीहरूको भारत प्रवेशको उद्देश्य र यात्रा मार्गबारे अनुसन्धान जारी राखेको छ।






