काठमाडौं, जेठ २६ –
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीद्वयले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
सुधन गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए। त्यस विषयमा सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।
त्यसैगरी, महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्। उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। फागुन २१ गतेको निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागिता जनाएका थिए।
गुरुङ गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। नयाँ नियुक्तिसँगै सरकारले मन्त्रिपरिषद्लाई थप पूर्णता दिएको छ।






