मानवअधिकारकर्मीमाथि एसिड आक्रमण गर्ने चार सैनिकलाई जेल सजाय

1200x150_1200x150-01.jpg (1)

जकार्ता, जेठ २७ –

इन्डोनेसियाको एक सैन्य अदालतले मानवअधिकारकर्मी आन्द्रिए युनुसमाथि एसिड आक्रमण गरेको अभियोगमा चार सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।

अदालतले एक अभियुक्तलाई ३ वर्ष, अर्कोलाई २ वर्ष ६ महिना, तेस्रोलाई २ वर्ष र चौथोलाई १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो। दोषी ठहर भएका चारै जना सेनाको रणनीतिक गुप्तचर निकायसँग आबद्ध रहेको जनाइएको छ।

गत मार्च १२ मा राजधानी जकार्तामा मोटरसाइकल चलाइरहेका युनुसमाथि दुई व्यक्तिले एसिड प्रहार गरेका थिए। उक्त आक्रमणबाट उनको दाहिने आँखाको दृष्टि गुम्नुका साथै अनुहार र शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको थियो।

अनुसन्धानका क्रममा अभियुक्तहरू युनुसको मानवअधिकारसम्बन्धी गतिविधिप्रति असन्तुष्ट भएर आक्रमणमा संलग्न भएको खुलेको छ। उनीहरूले कुनै आधिकारिक आदेशबिना योजनाबद्ध रूपमा आक्रमण गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो।

यो घटनाको सुनुवाइ अप्रिल महिनादेखि सुरु भएको थियो। मानवअधिकारकर्मीमाथिको आक्रमण र त्यसमा सैनिकको संलग्नताले इन्डोनेसियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक चासो र बहस सिर्जना गरेको छ।

सम्बन्धित पोस्टहरुः