काठमाडौँ, २७ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा नेपाल–भारत समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारतको भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहले सदनलाई यही जेठ १७ गते गर्नुभएको सम्बोधन तथा नेपाल–भारत सीमालगायत विषयमा स्पष्ट पार्दै उहाँले नेपाल तथा भारतबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप सो समस्या समाधान गरिने बताउनभुयो ।
राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढिरहेको जनाउँदै मन्त्री खनालले मित्र राष्ट्रहरूसँगका द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्र हित र आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम लिइएको बताउनुभयो ।






