बारा, २७ जेठ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त गस्ती टोलीले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले लुकाईछिपाई राखिएको ठूलो परिमाणको नेपाली तथा भन्सार छलीको अवैध भारतीय मलखाद बरामद गरेको छ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका क्षेत्रमा सञ्चालित विभिन्न पसल, गोदाम तथा सहकारी संस्थामा छापा मारी प्रहरीले उक्त मलखाद नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स्थानीय नितिक बिज भण्डारका सञ्चालक शिवशंकर साहले रामअवध सहनीको घरमा गोदाम गरी राखेको २९ बोरा पोटास मल बरामद गरेको छ, जसको अनुमानित बजार मूल्य ४७ हजार ३ सय ४२ रुपियाँँ रहेको छ।
यसैगरी सोही स्थान बस्ने रविन्द्र साहको बिक्की गल्ला भण्डारबाट ९६ हजार ३ सय १७ मूल्य बराबरको ५९ बोरा पोटास मल नियन्त्रणमा लिइएको छ।
प्रहरीले प्रस्टोकाकै रमेश साहले सञ्चालन गरेको महासरस्वती कृषि सहकारी संस्था लिमिटेडमा समेत छापा मारेको थियो। उक्त सहकारीबाट भन्सार छली ल्याइएको २८ बोरा इन्डियन युरिया, १७ बोरा एमोनियम सल्फेट र ८ बोरा नेपाली अनुदानित युरिया गरी कुल ५३ बोरा मल नियन्त्रणमा लिइएको छ । बरामद गरिएको उक्त मलको मूल्य क्रमशः २५ हजार ७ सय ६०, १८ हजार ७ सय र ६ हजार २ सय ६० रुपियाँ कायम गरिएको छ।
यसै क्रममा प्रस्टोका सडक खण्डमा डोर्याउँदै लैजाँदै गरेको म.प्र.०३–००२ च १९८२ नम्बरको ई–लोडरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त ई–लोडरमा लोड गरिएको १४ हजार ७ सय २० रुपियाँ मूल्य पर्ने १६ बोरा इन्डियन युरिया मल फेला परेपछि मल र ४ लाख रुपियाँ मूल्य कायम गरिएको लोडर दुवैलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मिन बहादुर घलेले दिएको जानकारी अनुसार बरामद गरिएका सम्पूर्ण मलखाद र ई–लोडरसहित कुल जम्मा ६ लाख ९ हजार १ सय रुपियाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय प्रसौनी बारामा राखिएको छ।







