वीरगंज, जेठ २८ —
दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरको पूर्वी क्षेत्रमा रहेको क्लिभल्यान्डस्थित एक बस्तीमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जनाको ज्यान गएको छ। घटनामा अन्य ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ‘जम्पर्स’ नामक अनौपचारिक बस्तीमा मंगलबार राति भएको आक्रमणपछि १० भन्दा बढी संदिग्धको खोजी कार्य तीव्र पारिएको छ ।आक्रमणको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
दक्षिण अफ्रिका विश्वमै उच्च हत्या दर भएका मुलुकमध्ये एक मानिन्छ। त्यहाँ दैनिक औसत ६० जनाको हत्या हुने गरेको तथ्यांकले देखाएको छ।
दक्षिण अफ्रिकी बन्दुकधारी संघका अनुसार देशमा कानुनी रूपमा दर्ता भएका करिब ३० लाख हतियार रहेका छन् भने सोही हाराहारीमा अवैध हतियार पनि रहेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।






