वीरगंज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ ।
युवालयको आयोजनामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर पत्रकारिता गर्न आवश्यक रहेको बताए । विद्यालय तथा शैक्षिक संस्थासँग सम्बन्धित समाचार संकलन र प्रकाशन गर्दा बालअधिकारका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्डलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यमहरूले समाचार तथा भिडियो प्रकाशन–प्रसारणका क्रममा बालबालिकाको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले बालअधिकार हनन हुन सक्ने भएकाले सञ्चारकर्मीहरू सचेत रहनुपर्ने बताए ।
शिक्षा शाखा प्रमुख लामिछानेले वीरगंज महानगरपालिकाले चाँडै नै ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार महानगरका ३२ वडा मध्ये २७ वटा वडा साक्षर वडा घोषणा भइसकेका छन् भने बाँकी वडाहरूलाई पनि साक्षर घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा प्रशिक्षक रामप्रवेश साहले मधेश प्रदेशको शिक्षा क्षेत्रका प्रमुख सूचक, वर्तमान अवस्था, बालअधिकारको कार्यान्वयन तथा बालमैत्री वातावरण निर्माणका विषयमा प्रस्तुति दिएका थिए । उनले बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यम, स्थानीय सरकार, विद्यालय तथा अभिभावकबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा युवालयका अभिनाष कार्की, अर्जुन साह, नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि जिल्ला कार्यसमिति सदस्य तिवारी यादव लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन युवालयका पर्सा प्रतिनिधि राहुल साहले गरेका थिए ।






