वीरगंज , जेठ २८ –
झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी र स्थानीय आलम जोल्हा रहेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार नागरिकता प्राप्त गर्न अयोग्य रहेका आलम जोल्हालाई स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानूनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन उनीहरूले संलग्नता जनाएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कागजातमा झुटा विवरण समावेश गरी नागरिकता जारी गराउने कार्यमा प्रशासनिक तहबाटै मिलेमतो भएको देखिएको छ। पक्राउ परेकाहरूमाथि नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र थप कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।







