वीरगंज, जेठ २८ –
नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको उपचारका क्रममा निधन भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बहुदरमाई नगरपालिका–६ निवासी २८ वर्षीय तेली हृदयसम्बन्धी समस्याबाट पीडित थिए। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो।
तेली विपद् व्यवस्थापन कार्यालय, जनकपुरमा दरबन्दी रहे पनि केही समयदेखि काजमा नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत थिए।
उनको निधनप्रति मधेश प्रदेश प्रहरी कार्यालयले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यालयले उनलाई कर्तव्यनिष्ठ, अनुशासित र राष्ट्रप्रति समर्पित प्रहरीकर्मीका रूपमा स्मरण गरेको छ।
प्रदेश प्रहरी कार्यालयले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।






