वीरगंज, जेठ २८ –
पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले आठ महिनादेखि तलब–भत्ता नपाएको भन्दै गाउँपालिका कार्यालय अगाडि तीन दिनदेखि शान्तिपूर्ण धर्ना जारी राखेका छन्।
कर्मचारीहरूका अनुसार २०८२ साल कार्तिक महिनादेखि हालसम्मको पारिश्रमिक भुक्तानी हुन बाँकी छ। पटक–पटक माग गर्दा पनि भुक्तानीको आश्वासन मात्र पाइएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।
उनीहरूले गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुलाई ज्ञापनपत्र बुझाउँदै तत्काल तलब भुक्तानीको माग गरेका छन्। साथै, २०८३ जेठ २५ गतेदेखि कार्यालयका सम्पूर्ण कामकाज थप कडाइ गर्दै निरन्तर धर्ना जारी राख्ने चेतावनी दिएका छन्।
धर्नामा सहभागी कर्मचारी गौरीशङ्कर यादवले आर्थिक संकट बढ्दै गएको बताएका छन्। “आठ महिनादेखि तलब नआउँदा घरभाडा, पढाइ र ऋण तिर्नसमेत समस्या भएको छ,” उनले भने।
कर्मचारी आन्दोलनका कारण गाउँपालिकाको प्रशासनिक तथा विकास कार्य प्रभावित हुने देखिएको छ। सेवाग्राहीहरू पनि प्रभावित भएका छन्।
गाउँपालिकाले भने तलब भुक्तानी ढिलाइको कारणबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।






