वीरगंज, जेठ ३० –
वीरगंजस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेपछि स्वास्थ्य सेवा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिँदै आएको अस्पतालमा आपत्कालीनदेखि सामान्य वार्डसम्म अतिरिक्त दबाब परेको छ ।
अस्पताल स्रोतका अनुसार निजी अस्पतालहरूमा ओपिडीबाहेकका स्वास्थ्य बीमा सेवा बन्द भएपछि ठूलो सङ्ख्यामा बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका छन् । साथै बढ्दो गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन् । तर पूर्वाधार र जनशक्तिको अभावका कारण स्वास्थ्यकर्मीहरू दबाबमा काम गर्न बाध्य भएको उनले बताए ।
बढ्दो बिरामी चापका कारण अस्पतालको आपत्कालीन कक्ष र वार्डहरूमा शय्या अभाव देखिएको छ । केही बिरामीलाई भुइँमा राखेर वा वैकल्पिक व्यवस्थामार्फत उपचार गर्नुपर्ने अवस्था समेत सिर्जना भएको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच स्थानीयवासी तथा सेवाग्राहीहरूले चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि, शय्या विस्तार र पूर्वाधार विकासलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि योजनाबद्ध लगानी र संरचनागत सुधार आवश्यक रहेको बताएका छन् ।







