वीरगंज, जेठ ३० –
भारतको असम राज्यस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेनाकर्मीको मृत्यु भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् । वायु सेनाका अनुसार विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो र त्यसपछि आगलागी समेत भएको थियो ।
दुर्घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ । वायु सेनाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र अनुसन्धानको निष्कर्ष नआउँदासम्म कुनै पनि अड्कलबाजी नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।







