वीरगंज ३० जेठ । नेपाल प्रौढ संघ पर्साद्वारा वीरगंज १६ मा ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण तथा सम्मानका लागि स्थापना गरिएको वृद्ध सेवा आश्रमको उदघाटन गरिएको छ ।
एक समारोहबीच प्रमुख अतिथि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं वर्तमान प्रदेश सांसद लालबाबु राउत गद्दीले आश्रमको उदघाटन गर्दै समाजमा वृद्धवृद्धाप्रति सम्मान र जिम्मेवारीको भावना अझ सुदृढ हुनुपर्ने बताए । वृद्धवृद्धाहरू समाजका अनुभव र ज्ञानका भण्डार भएको उल्लेख गर्दै उनीहरूको उचित हेरचाह र संरक्षण सबैको साझा दायित्व रहेको बताए। उनले आश्रम सञ्चालनले असहाय तथा अभिभावकविहीन ज्येष्ठ नागरिकहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दराउत अहिरको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रकाश उपाध्यायले संघको ईतिहास एवं कार्यहरूबारे प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आश्रम व्यवस्थापन समितिले संस्थाको उद्देश्य, भावी योजना तथा वृद्धवृद्धाहरूलाई प्रदान गरिने सेवा–सुविधावारे जानकारी गराएको थियो।
कार्यक्रममा नवगठित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो। उपस्थित अतिथिहरूले आश्रमको सफल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा आश्रम स्थापना तथा सञ्चालनमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। वृद्ध सेवा आश्रमले वीरगंज तथा आसपास क्षेत्रका ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण र हेरचाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






