वीरगंज, ३० जेठ । भारतको महावाणिज्य दूतावास, वीरगंजले १२औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनीमा योग सत्र आयोजना गरेको छ ।
१२ औं अन्तर्राष्ट्रिय योग दिवसको विश्वव्यापी उत्सवको पूर्वसन्ध्यामा सखुवा प्रसौनी गाउँपालिका, पर्साको सहकार्यमा श्रीपुर बजार, औराहा पाँचगावामा योग कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले दैनिक जीवनमा योगको सान्दर्भिकतामाथि जोड दिनुभयो । उहाँले सहभागीहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसलाई नियमित अभ्यासको रूपमा अपनाउन आग्रह गर्नुभयो ।
गापा अध्यक्ष जसवन्त यादवले सखुवा प्रसौनीमा कार्यक्रम आयोजना गरेकोमा वाणिज्य दूतावासप्रति कृतज्ञता व्यक्त गर्दै स्थानीय समुदायको हितको लागि भविष्यमा यस्तै कार्यक्रमहरूको लागि निरन्तर सहकार्यको लागि अनुरोध गर्नुभयो।
महावाणिज्यदूत डी. एस. मीनाले योगलाई भारतले विश्वलाई दिएको प्राचीन उपहारको रूपमा प्रकाश पार्दै समग्र स्वास्थ्य, सद्भाव र आन्तरिक शान्ति प्रवद्र्धनमा यसको भूमिकामा जोड दिनुभयो । उहाँले योगले भारत–नेपाल सम्बन्धलाई गहिरो बनाउने शक्तिशाली सांस्कृतिक पुलको रूपमा काम गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा एसपी, सशस्त्र प्रहरी बल, पर्सा र एसपी–राष्ट्रिय अनुसन्धान विभाग, पर्सा लगायत वरिष्ठ सरकारी अधिकारीहरू, पतञ्जलि योग समितिका सदस्यहरू र विद्यार्थी, शिक्षक, सामाजिक कार्यकर्ता र स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।
यो कार्यक्रम १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजद्वारा आयोजना गरिने कार्यक्रमहरूको श्रृंखलाको पहिलो कार्यक्रम रहेको भारतीय महावाणिज्य दूतावास वीरगंजले जनाएको छ ।










