नेपालले भारतको सीमा नमिचेको उपेन्द्र यादवको भनाई

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको सीमा नमिचेको बताएका छन् । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए ।

दुई पटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेको अनुभव उल्लेख गर्दै यादवले भारतले समेत हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको बताए । यस्तो अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आफूलाई आश्चर्य लागेको उनले बताए ।

सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने उल्लेख गर्दै यादवले ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा आफ्ना भनाइ पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौती दिए । तथ्यविना गरिने टिप्पणीले जनमानसमा भ्रम फैलिन सक्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले ७७ वटै जिल्लाबाट एक–एक जना मात्र प्रतिनिधिसभा सदस्य हुनुपर्ने सुझावप्रति असहमति जनाए । निर्वाचन क्षेत्र निर्धारण जनसंख्याको आधारमा हुनुपर्ने उनको धारणा थियो ।

मधेस र पहाडको पहिचान तथा आवश्यकताका आधारमा प्रदेशहरूको पुनःसंरचना हुनुपर्ने सुझाव दिँदै यादवले हाल प्रदेश सरकारहरू अधिकारविहीन र कामविहीन अवस्थामा रहेको बताए । प्रदेशहरूलाई स्वायत्त र अधिकारसम्पन्न बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

गत भदौ २३ र २४ गते भएका घटनाबारे सरकारले थप अनुसन्धान गरी वास्तविकता जनतासामु ल्याउनुपर्ने माग पनि उनले गरे । घटनाको निष्पक्ष छानबिनबाट सत्य तथ्य बाहिर आउनुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकारमा युवा शक्ति र नयाँ जोस–जाँगर रहेकाले देशलाई नयाँ दिशा दिन सक्ने अपेक्षा आफूहरूले गरेको यादवले बताए । सरकार सफल भए देश र जनताको हित हुने भएकाले सकारात्मक काममा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र जितेन्द्र सोनल, जसपा नेपालका नेता बालकिशोर यादव, रामनरेश प्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरुः