काठमाडौं, ३१ जेठ। फिफा विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा कतारले इनजुरी समयको पाँचौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। कतारका लागि डिफेन्डर बुआलेम खुखीले हेडमार्फत बराबरी गोल गरे।
खेलभरि दबाब कायम राखेको स्विट्जरल्यान्डले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। भिसा सम्बन्धी ढिलाइपछि मात्र अमेरिकामा प्रवेश अनुमति पाएका ब्रिल एम्बोलोले १७औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विस टोलीलाई १–० ले अगाडि बढाएका थिए।
पहिलो हाफको १३औँ मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले एम्बोलोलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
एम्बोलोले १७औँ मिनेटमा शान्त रूपमा पेनाल्टीलाई जाली चुमाउँदै बललाई गोलपोस्टको माथिल्लो बायाँ कुनामा प्रहार गरेपछि लेभाइस स्टेडियममा उपस्थित स्विस समर्थकहरू उत्साहित बनेका थिए।
खेलको दोस्रो मिनेटमै कतारका एडमिल्सन जुनियरले वन–अन–वन अवसर सिर्जना गरेका थिए, तर स्विस गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गरे।
९०औँ मिनेटमा अहमद अलाअल्दिनको नजिकबाट आएको प्रहारलाई पनि कोबेलले रोक्दै टोलीलाई लामो समयसम्म अग्रतामा राखेका थिए।
स्विट्जरल्यान्ड चार वर्षअघि अन्तिम १६ सम्म पुगेको थियो, जहाँ पोर्चुगलसँग ६–१ ले पराजित भएको थियो। उक्त खेलमा गोन्कालो रामोसले बेन्चमा रहेका स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा खेल्दै ह्याट्रिक गरेका थिए। त्यस हारपछि स्विस मिडफिल्डर जेर्डान शाकिरीले समर्थकसँग माफी मागेका थिए।
प्रशिक्षक मुराट याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्डले छनोट चरणमा स्विडेन, कोसोभो र स्लोभेनियाविरूद्ध अपराजित रहँदै चार जित र दुर्ई बराबरी निकालेको थियो।
यससँगै टोली लगातार छैटौँ विश्वकपमा पुगेको हो। स्विट्जरल्यान्ड सन् २००२ यता कुनै पनि विश्वकपबाट अनुपस्थित भएको छैन। तर टोलीले अहिलेसम्म क्वाटरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन।
स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतारले भने नोभेम्बरमा भएको प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको थियो। उसले संयुक्त अरब इमिरेट्स र ओमानलाई हराउँदै मुख्य प्रतियोगितामा प्रवेश गरेको थियो।
चार वर्षअघि घरेलु भूमिमा आयोजित विश्वकपमा कतार समूह चरणका सबै खेल हार्ने पहिलो आयोजक राष्ट्र बनेको थियो। सन् २०२२ को प्रतियोगितामा उसले सेनेगल, इक्वेडर र नेदरल्यान्ड्ससँग पराजय बेहोरेको थियो।






