मधेश सरकारले आज ल्याउँदैछ अहिलेसम्मकै सानो बजेट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार – १

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज अहिलेसम्मकै सानो आकारको बजेट सार्वजनिक गर्ने भएको छ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा यातायात क्षेत्रलाई समेटेर बजेट ल्याउन लागिएको हो ।

प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि चालु र पुँजीगत खर्चसहित करिब ४१ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याइने तयारी गरिएको छ । यो बजेट प्रदेश स्थापना भएयताकै सबैभन्दा सानो आकारको हुने बताइएको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ का लागि मधेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर राजस्व संकलन र खर्च व्यवस्थापनमा समस्या देखिँदा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएको थियो । त्यसपछि सरकारले विकासे योजनाहरूमा २० प्रतिशतसम्म बजेट कटौती गरेको थियो ।

आगामी बजेटमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनाको संख्या घटाउने तयारी गरिएको छ । विकासे बजेटलाई केही ठूला शीर्षकमा समेट्दै एक करोड रुपैयाँभन्दा माथिका योजनालाई प्राथमिकता दिने गरी बजेट तर्जुमा गरिएको स्रोतको भनाइ छ ।

सम्बन्धित पोस्टहरुः