वीरगंज, असार १ –
कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा एक महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार दिउँसो कैलालीको गोदावरी क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको आरोप लगाउँदै वनका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए । घटनापछि चौतर्फी आलोचना र विरोध भएको थियो ।
घटनापछि डिभिजन वन कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । उनीहरूले अतिक्रमण हटाउने क्रममा बल प्रयोग गर्दा भिरालो भू–सतह र असन्तुलनका कारण टेम्पो खसेको दाबी गरेका छन् ।
तर सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वनका कर्मचारीहरूले टेम्पोलाई धकेल्दै भीरबाट खसालेको स्पष्ट देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







