वीरगंज, १ असार ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ भगीरथ लाइन होटल अगाडि वीरगंज–पथलैया सडक खण्डमा आइतवार दिउँसो भएको स्कुटर दुर्घटनामा परी घाइते भएकामध्ये एकजना किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो १५ः३४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा अर्का एकजना किशोरी पनि घाइते भएकी छन् ।
प्रहरीका अनुसार जितपुरबाट सिमरा जाँदै गरेको म.प्र. ०३–०३९ प. २६८६ नम्बरको स्कुटर दिउँसो अन्दाजी १२ः१० बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटरको पछाडि सवार सोही ठाउँकी १६ वर्षीया सुप्रिया रूम्बा (स्व. तिलक बहादुर रूम्बाकी छोरी) घाइते भएकी छन् । उनको अनुहार, बायाँ हात र दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । घाइते रूम्बाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) तेज नारायण बैठाको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगी उद्धार कार्य गरेको थियो । दुर्घटनाग्रस्त स्कुटरलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ भने मृतकको शव अस्पतालमै राखिएको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






