वीरगंज, असार २
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । आइतबार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा उनी छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो । उनलाई प्रारम्भिक उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा बिहान ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अस्पतालबाट प्राप्त सूचनापछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी सहायक निरीक्षक कलम नारायण यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ ।





