पर्सा–१ मा खेलकुद र पूर्वाधार विकासका लागि करोडौं बजेट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २ –

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा पर्सा क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न पूर्वाधार, खेलकुद तथा सहरी विकासका योजनाका लागि बजेट विनियोजन गरिएको छ । क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले संघीय सरकारको रातो किताबमा समावेश योजनामार्फत क्षेत्रको विकासलाई प्राथमिकता दिइएको बताएका छन् ।

बजेटअनुसार नारायणी रंगशालाको क्रिकेट मैदान थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै रंगशालाको फुटबल मैदानमा फ्लडलाइट जडान तथा स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । नारायणी बहुउद्देश्यीय कभर्ड हलको थप स्तरोन्नतिका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगंज महानगरपालिकाभित्रका सहरी सडकको स्तरोन्नति, मर्मत–सम्भार तथा सडक सुरक्षा कार्यक्रमका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत महानगरका १७ वटा महत्वपूर्ण सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिनेछ ।

जनता सडक आवधिक मर्मत कार्यक्रमअन्तर्गत जितपुर–दौडा सडक, प्रसौनी स्कुल–मनियारी, पचनाचोक–ताजपुर तथा पटेलनगर–परवानीपुर सडक खण्डका लागि १२ करोड रुपैयाँ व्यवस्था गरिएको छ ।

औद्योगिक तथा व्यापारिक गतिविधिलाई सहज बनाउन हरपतगञ्जदेखि पूर्व ड्राईपोर्ट जोड्ने ६ लेन सडक निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगंज महानगरपालिका–३२ स्थित ज्योति फर्मदेखि चोर्नीसम्मको सडक खण्डमा पर्ने सिसिवा खोलामा पुल निर्माण, सडक मर्मत तथा सुरक्षा व्यवस्थापनका लागि २१ करोड ११ लाख ४६ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै यान्त्रिक व्यवस्थापन डिभिजन पर्साका लागि १ करोड २१ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६ देखि निर्माण भएका आवासहरूको भुक्तानी तथा सघन सहरी एवं भवन निर्माण योजनाका लागि पनि बजेट सुनिश्चित गरिएको छ ।

संघीय कार्यालय भवनहरूको मर्मत–सम्भारका लागि ३५ लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ भने कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानलाई सेवा प्रवाह प्रभावकारी बनाउन कृषि ज्ञान केन्द्र पर्सालाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

सांसद हरि पन्तले बजेटमा समावेश योजनाले पर्सा क्षेत्र नम्बर १ को खेलकुद, पूर्वाधार, यातायात तथा आर्थिक गतिविधिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः