छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्तासहित पाँच जनाले पाए सफाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्तासहित पाँच जनाले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार गाउँपालिका अध्यक्ष गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल तथा केएस मल्टि पर्पोज प्रालि वीरगंजका सञ्चालक कमलकुमार उपाध्यायसहित प्रतिवादीहरूलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते छिपहरमाई गाउँपालिकाले बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष गुप्तासहित सम्बन्धित पक्षविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिकमा सूचना प्रकाशित गरिएको देखाई भुक्तानी गरेको थियो । तर अनुसन्धानका क्रममा उल्लेखित मितिमा उक्त पत्रिकामा त्यस्तो सूचना प्रकाशित नभएको आयोगको दाबी थियो ।

यद्यपि, विशेष अदालतले प्रस्तुत प्रमाण तथा तथ्यहरूको मूल्यांकनपछि आरोपितहरूविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।

सम्बन्धित पोस्टहरुः