सीमा नियन्त्रणको नाममा दुःख दिए प्रतिरोध हुन्छ : पूर्वमुख्यमन्त्री सोनल

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल–भारत सीमामा सरकारले अपनाएको कडाइप्रति असन्तुष्टि जनाएका छन् । उनले सीमा नियन्त्रणको नाममा जनतालाई दुःख दिने प्रयास भए मधेसमा प्रतिरोध हुने चेतावनी दिएका छन् ।

मिडिया काउन्सिल मधेशले बाराको कलैयामा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै सोनलले सदियौँदेखि कायम रहेको नेपाल–भारत सीमापारको सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई संकुचित गर्न नहुने बताए । सीमा व्यवस्थापनका नाममा आम नागरिकको दैनिकी प्रभावित हुने गरी कदम चाल्न नहुने उनको भनाइ थियो ।

उनले सीमा क्षेत्रमा बसोबास गर्ने जनताको आवश्यकता र वास्तविकतालाई ध्यानमा राखेर नीति बनाउन सरकारलाई आग्रह गरे । सीमा क्षेत्रका नागरिकको जीवनशैली र पारिवारिक सम्बन्धलाई बेवास्ता गरेर गरिने निर्णयले असन्तोष बढाउने उनले बताए ।

सोनलले संवैधानिक निकायहरूको स्वतन्त्रता कायम राख्न तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न पनि सरकारसँग आग्रह गरे । लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

सम्बन्धित पोस्टहरुः