वीरगंज, असार २
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगका लागि आवेदन दिएका करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि नतिजा प्रकाशन प्रभावित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका हराएका कारण ती विद्यार्थीको नतिजा सार्वजनिक गर्न नसकिएको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पुनर्योगका लागि ३३ हजार ८ सय ८७ जनाले आवेदन दिएका थिए । तीमध्ये ३१ हजार ८ सय ५५ जनाको नतिजा सार्वजनिक गरिएको छ भने करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशन रोकिएको छ ।
तथ्यांकअनुसार २ हजार ३ सय ३५ जनाको नतिजा प्रकाशन हुन बाँकी देखिए पनि केही विद्यार्थीको नतिजा अन्य कारणले स्थगित भएको र कतिपयले एकभन्दा बढी विषयमा पुनर्योगका लागि आवेदन दिएका कारण वास्तविक संख्या एक हजारको हाराहारीमा रहेको बोर्डले जनाएको छ ।
उत्तरपुस्तिका सम्बन्धित जिल्ला र परीक्षा केन्द्रबाट जथाभाबी रूपमा पठाइएकाले खोज्न समस्या भएको परीक्षा बोर्डका कर्मचारीहरूको भनाइ छ । झापा, इलाम, मोरङ, सुनसरी र सर्लाहीलगायत जिल्लाका केही उत्तरपुस्तिका विद्यालयमै भेटिएको र ती मगाइएको परीक्षा नियन्त्रक अधिकारीले बताएका छन् ।
पुनर्योगको नतिजा ढिला हुँदा विद्यार्थीहरू ग्रेडवृद्धि (पूरक) परीक्षा दिन बाध्य भएका छन् । सर्लाहीका केही विद्यार्थी नतिजा खोज्दै भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेका छन् भने मोरङका विद्यार्थी नतिजा नआएकै अवस्थामा पूरक परीक्षामा सहभागी भएका छन् ।
सोमबार मात्रै ३ सय ३९ जनाको पुनर्योगको नतिजा सार्वजनिक गरिएकोमा १८ जनाको नतिजामा परिवर्तन भएको छ । यसअघि सार्वजनिक गरिएका ३१ हजार ५ सय १६ नतिजामध्ये १ हजार ८ सय १० जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । यस वर्ष पुनर्योगमार्फत साढे ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा सुधार भएको छ ।






