वीरगञ्ज, ३ असार । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ‘राष्ट्रीय परिवार स्वास्थ्य सर्वेक्षण–६’ (NFHS-6) को विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। मुम्बईस्थित अन्तर्राष्ट्रिय जनसंख्या विज्ञान संस्थान (IIPS) को सहयोगमा सन् २०२३–२४ को अवधिमा गरिएको यस सर्वेक्षणले भारतको स्वास्थ्य, पोषण, परिवार कल्याण र सामाजिक विकासका सूचकहरूमा ठूलो प्रगति भएको देखाएको छ।
कुल ७१५ जिल्लाका करिब ६ लाख ७९ हजार परिवारमाझ गरिएको यस सर्वेक्षणले नीतिगत हस्तक्षेप र लक्षित कार्यक्रमहरूको सकारात्मक प्रभावलाई उजागर गरेको छ।
मातृ तथा शिशु स्वास्थ्यमा क्रान्तिकारी सुधार
प्रतिवेदन अनुसार, भारतमा संस्थागत प्रसव (अस्पताल वा स्वास्थ्य संस्थामा हुने जन्म) को दर ८८.६ प्रतिशतबाट बढेर ९०.६ प्रतिशत पुगेको छ। यसैगरी, ९५.९ प्रतिशत गर्भवती महिलाहरूले प्रसवपूर्व हेरचाह (ANC) सेवा प्राप्त गरेका छन् भने पहिलो त्रैमासिकमा सेवा लिने महिलाहरूको संख्या ७६.२ प्रतिशत पुगेको छ।
गर्भावस्थामा कम्तीमा १०० दिनसम्म आइरन र फोलिक एसिडको चक्की सेवन गर्ने आमाहरूको संख्या ४४.१ प्रतिशतबाट बढेर ५४.९ प्रतिशत पुगेको छ। ‘जननी सुरक्षा योजना’ र ‘प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान’ जस्ता सरकारी पहलहरूका कारण यो सफलता सम्भव भएको हो।
बाल खोप र पोषणमा ठूलो सफलता
१२ देखि २३ महिनाका बालबालिकाहरूमा पूर्ण खोप कभरेज ८३.८ प्रतिशतबाट बढेर ८७.१ प्रतिशत पुगेको छ। विशेषगरी रोटाभाइरस खोप कभरेजमा ३६.४ प्रतिशतबाट ८५.४ प्रतिशतको ठूलो वृद्धि देखिएको छ।
पोषणको क्षेत्रमा, ५ वर्षमुनिका बालबालिकाहरूमा पुड्कोपन (Stunting) ३५.५ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ। त्यस्तै, ख्याउटेपन (Wasting) ७.७ प्रतिशतबाट घटेर ५.२ प्रतिशतमा सिमित भएको छ। जन्मिएको एक घण्टाभित्रै स्तनपान गराइने बालबालिकाको संख्या पनि बढेर ५०.१ प्रतिशत पुगेको छ।
स्वास्थ्य बीमा र वित्तीय समावेशीकरण
पारिवारिक स्तरमा स्वास्थ्य बीमा वा वित्तीय सुरक्षा योजनाको पहुँच ४१.० प्रतिशतबाट उल्लेखनीय रूपमा वृद्धि भई ६०.२ प्रतिशत पुगेको छ। यसमा ‘आयुष्मान भारत–प्रधानमन्त्री जन आरोग्य योजना’ (PM-JAY) को मुख्य भूमिका रहेको उल्लेख छ।
महिला सशक्तीकरण र डिजिटल पहुँच
सर्वेक्षणले भारतीय महिलाहरूको डिजिटल र वित्तीय आत्मनिर्भरता तीव्र गतिमा बढेको देखाएको छ:
इन्टरनेटको प्रयोग: इन्टरनेट चलाउने महिलाहरूको संख्या झन्डै दोब्बर भई ३३.३ प्रतिशतबाट ६४.३ प्रतिशत पुगेको छ।
बैंक खाता: आफ्नै बैंक वा बचत खाता प्रयोग गर्ने महिलाहरूको दर ८९.० प्रतिशत पुगेको छ।
मोबाइल फोनको स्वामित्व: ६३.६ प्रतिशत महिलाहरूले आफ्नो व्यक्तिगत मोबाइल फोन प्रयोग गर्ने गरेका छन्।
महिनावारी स्वच्छता: १५–२४ वर्ष उमेर समूहका ७९.२ प्रतिशत महिलाहरूले महिनावारीका बेला सुरक्षित र स्वच्छ तरिकाहरू अपनाउने गरेको पाइएको छ।
समग्रमा, यस सर्वेक्षणको नतिजाले भारत दिगो विकास लक्ष्य (SDG) हासिल गर्ने दिशामा दृढताका साथ अघि बढिरहेको र यसले आगामी दिनमा थप प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ।







