स्पर्श मल्टिस्पेसलिटी अस्पतालको शुल्क विवाद :विरोधपछि रकम घटाइयो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

वीरगंज–ड्राइपोर्ट सडकखण्डअन्तर्गत वीरगंज महानगरपालिका–२१ मा सोमबार भएको सवारी दुर्घटनापछि उपचार शुल्कलाई लिएर निजी अस्पताल र घाइते पक्षबीच विवाद उत्पन्न भएको छ । सामान्य चोटपटक लागेका घाइतेहरूको उपचारका नाममा अत्यधिक शुल्क असुल्न खोजिएको भन्दै आफन्त र स्थानीयले विरोध जनाएपछि अन्ततः बिल रकम घटाएर सहमति गरिएको छ ।

प्रहरी चौकी परवानीपुरका अनुसार मधेश प्रदेश ०३–५१–००२ स ४३५७ नम्बरको हलुका मालवाहक लोडर अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सवारीमा क्षमताभन्दा बढी यात्रु बोकेको र तीव्र गतिका कारण दुर्घटना भएको हो ।

घाइतेहरूलाई एम्बुलेन्समार्फत वीरगंज–१४ बहुअरीस्थित स्पर्श मल्टिस्पेसलिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । घाइते पक्षका अनुसार सरकारी अस्पताल लैजान आग्रह गरे पनि उनीहरूलाई सिधै निजी अस्पताल पुर्‍याइएको थियो ।

उपचारपछि सामान्य चोटपटक लागेका बिरामीहरूको उपचारबापत करिब २ लाख ८० हजार रुपैयाँको बिल तयार गरिएपछि विवाद चर्किएको थियो । पीडितहरूले सामान्य उपचार, स्लाइन, सुई र एक्स–रेका लागि अस्वाभाविक शुल्क लिइएको आरोप लगाएका छन् ।

विवादपछि घाइतेका आफन्त, स्थानीय र अस्पताल प्रशासनबीच छलफल भएको थियो । त्यसपछि अस्पतालले तयार गरेको बिलमा छुट दिँदै अन्ततः ६५ हजार रुपैयाँमा सहमति भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासन शाखाका रूपक पटेलले अस्पतालले कसैलाई ठगी नगरेको दाबी गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आन्तरिक निर्णयअनुसार छुट दिइएको बताए । उनले अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको र उपचारमा कुनै लापरबाही नभएको दाबी गरे ।

यता, घाइते पक्षका सञ्जीव मिश्राले भने एम्बुलेन्स र निजी अस्पतालबीचको समन्वयका कारण बिरामीमाथि अनावश्यक आर्थिक भार पर्ने गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस घटनाले दुर्घटनापछि बिरामीलाई कहाँ उपचारका लागि लैजाने, निजी अस्पतालको शुल्क निर्धारण र एम्बुलेन्स सेवाको पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ । हालसम्म सम्बन्धित नियामक निकायले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित पोस्टहरुः