चितवन । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा एक विशेष योग कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आगामी अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज (मंगलबार) बिहान यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा माननीय सहकारी तथा गरिबी निवारण मन्त्री सुश्री बिनु राई माझी उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत श्री देवी सहाय मीना पुर्याउनुभएको थियो।
उक्त अवसरमा विशिष्ट अतिथिका रूपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्री गणेश अर्याल, चितवनका प्रहरी उपरीक्षक (एसपी) तथा राष्ट्रिय अनुसन्धान विभाग चितवनका एसपी लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महावाणिज्यदूत श्री देवी सहाय मीना ज्यूले योगको शारीरिक, मानसिक र आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले योग भारतको प्राचीन धरोहर भएको र हाल यो वैश्विक कल्याणको माध्यम बनेको चर्चा गर्नुभयो। साथै, योगले भारत र नेपालबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
यसैगरी, मुख्य अतिथि माननीय मन्त्री सुश्री बिनु राई माझी ज्यूले योगलाई स्वस्थ जीवनशैलीको मुख्य आधार मान्दै दैनिक जीवनमा यसको उपयोगिता बारे प्रष्ट पार्नुभयो। योगले तनावमुक्त समाजको निर्माण गर्न र मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्न ठूलो सहयोग पुर्याउने उहाँले बताउनुभयो।
नारायणी नदीको मनोरम र प्राकृतिक वातावरणमा आयोजित उक्त कार्यक्रममा योग प्रशिक्षकहरूद्वारा ‘सामान्य योग प्रोटोकल’ अनुसार विभिन्न योगासन र प्राणायामहरूको अभ्यास गराइएको थियो।
कार्यक्रममा नेपाल–भारत मैत्री संघ, पतञ्जली योग समिति, उद्योग वाणिज्य संघ, आर्ट अफ लिभिङ, भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरू, स्थानीय सामाजिक संघ–संस्थाका पदाधिकारीहरू तथा ठूलो संख्यामा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।






