नयाँ पत्रकारसँग १० वर्षसम्म भिड्न तयार छु– वरिष्ठ पत्रकार झा

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार -२

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा बाराको कलैयामा पत्रकारिताको आचारसंहितासम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यक्रमको उद्घाटन जसपा नेपालका नेता तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

मधेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।

मुख्य प्रशिक्षकसमेत रहेका झाले नयाँ सञ्चार माध्यमको विस्तारसँगै परम्परागत पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै विषयवस्तु र भाषामा पकड कायम राख्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले कृत्रिम बुद्धिमत्ता तथा मोबाइल उपकरणमा अत्यधिक निर्भरता बढ्दा पत्रकारिताको मौलिकता खुम्चिँदै गएको भन्दै नयाँ पुस्ताका पत्रकारलाई सिर्जनशीलता र अध्ययनमा जोड दिन आग्रह गरे ।

पत्रकारिताको सैद्धान्तिक मान्यता र जनचासोका विषयमा आधारित निष्पक्ष तथा मर्यादित पत्रकारिताले समाज र देशलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

छोटो अवधिमै धेरै कमाउने उद्देश्यले मात्र पत्रकारितामा प्रवेश गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले आर्थिक लाभलाई मात्र लक्ष्य बनाएर पत्रकारितामा आउन नहुने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदी, पूर्व अध्यक्ष रेशम तिवारी, पत्रकार भोजराज थापा, सत्य श्रेष्ठ, लक्ष्मी साहलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरुः