म्याद गुज्रिएका सामग्री प्रयोग गरेको आरोपमा वीरगंजका चार ब्युटी पार्लर कारबाहीमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहल तथा प्राप्त उजुरीका आधारमा वीरगंजका विभिन्न ब्युटी पार्लर र सौन्दर्य संस्थामा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेको पाइएपछि चार वटा संस्थामाथि कारबाही गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले लिंक रोड घण्टाघरस्थित ‘द बियर्ड सप ब्युटी सैलुन’, आदर्शनगरस्थित ‘औराः एलेभेन’ तथा घडिअर्वा पोखरी नजिक रहेको ‘कुरियर्स माउन्ड ग्रुप प्रालि’लाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ। यस्तै घण्टाघर–६ स्थित ‘हेयर ट्याग एन्ड एकेडेमी’लाई १० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका सदस्य प्रकाशकुमार शाहले जानकारी दिए।

उनका अनुसार उपभोक्ता ठगीसम्बन्धी गुनासो र उजुरी बढेपछि विशेष अनुगमन अभियान सञ्चालन गरिएको हो। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ (घ) अनुसार कारबाही गरिएको जनाइएको छ।

अनुगमनका क्रममा ‘द बियर्ड सप ब्युटी सैलुन’बाट करिब १५ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको छ। यस्तै ‘औराः एलेभेन’बाट करिब ४० हजार रुपैयाँ र ‘कुरियर्स माउन्ड ग्रुप प्रालि’बाट ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उद्योग वाणिज्य संघ वीरगंज, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सौन्दर्यकर्मी संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

वीरगंजमा सौन्दर्य सेवाको नाममा सञ्चालन भइरहेका केही संस्थाले म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री प्रयोग गरेको गुनासो बढ्दै गएको अवस्थामा गरिएको अनुगमनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायप्रति नियामक निकाय कडा रूपमा प्रस्तुत भएको देखिएको छ। सरोकारवालाले यस्ता व्यवसायमाथि नियमित अनुगमन र प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः