प्रमुख प्रशासकीय अधिकृत आएपछि वीरगंज महानगरमा रोकिएको तलब भुक्तानी सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक कारोबार प्रभावित बनेको वीरगंज महानगरपालिकामा कर्मचारीहरूको रोकिएको तलब भुक्तानी प्रक्रिया सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा बसन्तबहादुर बोहरा जेठ २१ गते हाजिर भएपछि महानगरको आर्थिक प्रशासन पुनः सक्रिय बनेको हो ।

बोहरा हाजिर भएको केही दिनमै नगरप्रमुख राजेशमान सिंह निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै कर्मचारीहरूको तलब निकासा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप भुक्तानी गरिएको छ ।

लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी र १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब निकासा गरिएको छ । यस्तै १२० जना करार सेवाका कर्मचारी तथा १३ जना करार सवारी चालकलाई चार महिनाको तलब भुक्तानी गरिएको उनले जानकारी दिए ।

उनका अनुसार अझै बाँकी रहेका ६८४ जना कर्मचारीको खातामा पनि आज–भोलिभित्र तलब रकम जम्मा गरिने तयारी भइरहेको छ । पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब उपलब्ध गराइने उनले बताए ।

महानगरपालिकामा स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करार कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो । महानगरले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ ।

यता, सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रालिको समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ । महानगरले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसक्ने अवस्था रहेकाले दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल निकासा गर्न कार्यवाहक नगरप्रमुख आलमले निर्देशन दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै रोकिएका आर्थिक गतिविधि पुनः सञ्चालनमा आउन थालेपछि महानगरका कर्मचारी तथा सेवा प्रदायक संस्थाहरूमा राहतको अपेक्षा बढेको छ ।

सम्बन्धित पोस्टहरुः