वीरगंज, असार – ३
पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ बुधबारदेखि सुरु भएको छ । सडक अनुशासन कायम राख्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा असार ३ देखि ९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुने छ ।
कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले गरेका थिए । कार्यक्रममा प्रहरी, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सप्ताहको पहिलो दिन वीरगञ्जको घण्टाघरबाट सुरु भएको जनचेतनामूलक र्याली लिंक रोड, बसपार्क हुँदै पुनः घण्टाघर पुगेर सम्पन्न भएको थियो । र्यालीमा विद्यार्थी, स्काउट तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ट्राफिक नियमसम्बन्धी सन्देशसहित सहभागिता जनाएका थिए ।
कार्यक्रममा ट्राफिक नियमको पालना, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग तथा मदिरा सेवन गरी सवारी नचलाउने विषयमा जनचेतना फैलाइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवालले सडक सुरक्षामा सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको बताउँदै ट्राफिक नियम पालना भए दुर्घटना धेरै हदसम्म घटाउन सकिने उल्लेख गरे ।
आयोजकका अनुसार सप्ताहभर विद्यालय, सार्वजनिक स्थल तथा सवारी चालक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।










