वीरगंज, असार ३ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधि तथा विभिन्न पदका उम्मेदवारका लागि शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क तोकेको छ।
रास्वपाका अनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारले समान ४१ हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
पार्टी विधानअनुसार दुई उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, ९९ निर्वाचित केन्द्रीय सदस्य रहने व्यवस्था छ। साथै सभापतिले २२ जना केन्द्रीय सदस्य मनोनित गर्न सक्नेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्।
रास्वपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दैछ। पार्टी निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहनेछ।






