वीरगंज, असार ४ –
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले करिब ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिविना कुवेतमा काम गरिरहेको जानकारी दिएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले त्यस्ता श्रमिकलाई समस्या पर्दा सहयोग गर्न कठिन हुने बताए। घरेलु श्रमिकको विषयमा सरकार ‘पोलिसी ट्र्याप’ मा परेको उनको भनाइ छ।
उनले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न प्रक्रिया तीव्र पारिएको जानकारी दिँदै संशोधनको मस्यौदा आइतबारसम्म कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको बताए। नयाँ कानुनले विगतका कमजोरी सुधार गर्ने उनको दाबी छ।
मन्त्री यादवले तीनै तहका सरकारसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रयास भइरहेको तथा विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्न उनीहरूको तथ्यांक संकलनलाई प्राथमिकता दिइएको बताए।






