वीरगंज, ४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० किलोग्राम गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८३ साल असार ३ गते राति ९:१० बजेको समयमा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डो झाडीमा लुकाई छिपाई राखिएको अवस्थामा २५ वटा प्लास्टिकको पोकामा उक्त गाँजा फेला पारिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार रीतपूर्वक गाँजा बरामद गरी हाल यस घटनामा संलग्न व्यक्तिहरूको तीव्र खोजी तथा थप अनुसन्धान कार्य भइरहेको छ।






