महोत्तरी, असार ५
महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ।
नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उक्त व्यवस्था समावेश गरिएको हो। नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
यसअघि पनि नगरपालिकाले मुसहर समुदायलाई लक्षित गर्दै उमेर पुगेपछि विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर हालसम्म न्यून मात्रामा मात्र लाभग्राही सहभागी भएका छन्।
नगरपालिकामा बालविवाह रोकथामका लागि केही वडालाई बालविवाहमुक्त घोषणा गरिए पनि व्यवहारिक रूपमा समस्या पूर्ण रूपमा अन्त्य हुन नसकेको सरोकारवालाले बताएका छन्।
नगरको नयाँ निर्णयलाई महिला अधिकारकर्मीहरूले सामाजिक सचेतना अभिवृद्धि गर्ने सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।





