काठमाडौं, असार ५ –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन–ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि पूरक (मौका) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षा साउन २ र ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। साउन २ गते अनिवार्य अंग्रेजी तथा एक विषयमा मात्र परीक्षा दिने र दुई विषय दिने परीक्षार्थीका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। साउन ३ गते दुई विषय दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिनेछ।
नियमअनुसार दुई विषयसम्म एनजी प्राप्त गरेका वा अन्य विषयमा डी ग्रेड वा सोभन्दा माथि ल्याएर दुई विषयमा अनुपस्थित भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउनेछन्।
बोर्डले परीक्षा शुल्क असार १९ गतेभित्र ८०० रुपैयाँ र विलम्ब शुल्कसहित असार २६ गतेभित्र १ हजार ६०० रुपैयाँ बुझाउनुपर्ने जनाएको छ।
यसैबीच, नतिजा पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँ शुल्क बुझाएर असार १२ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ।





