वीरगंज, असार ५ –
जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा बिन्दबासिनी गाउँपालिका–२ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयमा विद्यालयस्तरीय निर्वाचन शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, निर्वाचन प्रणाली तथा नागरिक जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मतदान प्रक्रिया, मतदाताको अधिकार तथा कर्तव्य, स्वच्छ र निष्पक्ष निर्वाचनको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका नायब सुब्बा राजेन्द्रबहादुर दासले निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएकाले विद्यार्थीहरूलाई भविष्यका जिम्मेवार मतदाताका रूपमा तयार गर्न निर्वाचनसम्बन्धी ज्ञान आवश्यक रहेको बताए।
सहभागी विद्यार्थीहरूले निर्वाचन प्रणाली र मतदाता शिक्षासम्बन्धी जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अरुणकुमार ठाकुरले १४ वटै स्थानीय तहका एक–एक माध्यमिक विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरी नयाँ पुस्तामा लोकतान्त्रिक मूल्य र मान्यताप्रति जागरुकता बढाउने उद्देश्य रहेको जानकारी दिए।







