वीरगंज, असार ५
सर्लाहीको बरहथवा नगरपालिका–३ प्रतिटोलमा चोरी भएको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ४ बजे मियाँले विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए। त्यसपछि नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेका बेला घरधनी पक्षले देखेपछि होहल्ला भएको थियो।
घटनापछि पक्राउ परेका मियाँको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त गाडी जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवन क्षेत्रबाट चोरी भएको खुलेको प्रहरीले जनाएको छ।
सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार चोरीमा प्रयोग गरिएको गाडी हराएको सवारीसँग मेल खाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।






